बालुवा बोक्ने राङदान तामाङ यसरी बने करोडपति

एकजना महिला टोकरीमा अण्डा बोकेर बेच्न बजार जान्छिन् । अण्डा बेचेर धेरै अण्डा पार्ने कुखुरी किन्ने, धेरै अण्डा बेचेर गाई किन्ने, दूध बेच्ने र क्रमश धनी, झन धेरै धनी बन्ने कल्पना गर्छिन् ।

यस्तै कल्पनामा डुबेर हिँड्दा एउटा ढुंगामा ठेस खाएर लड्छिन्, सबै अण्डा फुट्छ ।

निकै चर्चित छ यो कथा । अनावश्यक सपना देख्न हुँदैन भन्ने शिक्षा दिन्छ यो कथाले ।

अब यो कथालाई उल्टो पारौं । अर्थात्, ती महिलाको अण्डा नफुटेको भए, उनले सोंचेजस्तै भएको भए के हुन्थ्यो होला ? मीठो छैन त यो कल्पना ?

अब यथार्थमा

रामेछापको गरिब परिवारका राङदान तामाङ कुनै जमाना काठमाडौंमा खोलामा बालुवा बोक्थे । सबै मानिसले झैं उनले पनि धनी भएको, सफल भएको सपना देख्थे । पछि उनी गाडीमा सहचालक बने । त्यसपछि चालक बने । हिमाल पावर कम्पनीको गाडि चलाउन थाले । मनभित्र धनी र सफल बन्ने सपना थियो । त्यसैले उनले थाले नेटवर्क मार्केटिङ ।

जडिबुटीको औषधी बेच्ने मार्केटिङमा उनले फाइदा हुने देखे । त्यसपछि परिवारका सदस्य, आफन्त, चिनजानका सबैलाई सदस्य बनाउन थाले । निकै राम्रो कमाई हुने आश थियो उनलाई । तर, एकदिन कम्पनी नै भाग्यो । भएभरको पूँजी पनि डुब्यो, सपना पनि भताभुंग भयो अनि अप्ठेरोमा पनि परे ।

टोकरीमा अण्डा बोकेर बेच्न हिँडेकी महिलाको जस्तै भयो राङदानको सपना ।

अण्डा फुटेपछि ती महिलाले के गर्छिन् भन्ने वर्णन कथामा गरिएको छैन । तर, रामेछाप दोरम्बाका यी नायकले भने हरेश खाएनन् । आगोले पोलेको घाउ आगोले सेकेर निको पार्नुपर्छ भने झैं यिनले जडिबुटिकै खेति थाले ।

नेटवर्क व्यवसायबाट ठगिएका थिए ०६५ सालमा, जडिबुटिका विरुवा रोप्न थाले ०६७ सालमा । त्यसपछि उनको सफलता उनी स्वयंलाई सपना जस्तै लाग्छ, उनको कथा पढ्ने तपाईंलाई पनि आश्चर्यमा पार्छ ।

माटोमा सुन

हिमाल कम्पनीको गाडि चलाउँदै उनी दोलाखाको खावा पुगेका थिए । त्यहाँ लौठ सल्लाको खेति भएको सुने । फर्कंदा उनले सात सय विरुवा ल्याएर बारीमा लगाए । दोलखाकै किर्नेबाट अलैंचीको विरुवा ल्याएर लगाए । जहाँ पुग्थे, नयाँनयाँ विरुवा ल्याएर बारीमा लगाउन थाले ।

यसरी जडिबुटिको विरुवा लगाउन किन थालेका थिए भने नेटवर्क व्यवसाय गर्दा त्यो कम्पनीले केही घोडताप्रे राङदानसँग किनिदिएको थियो । उनले गाउँघरबाट घोडताप्रे भेला गरेका थिए । जुडिबुटी विक्री हुन्छ र कमाउन सकिन्छ भन्ने उनले बुझेका थिए । त्यही भएर जडिबुटीका विरुवा लगाएका थिए ।

उनले बारीमा ठूलो ओखतो, बोझो, पदमचाल लगायतका विरुवा लगाए । नेटवर्क मार्केटिङको अवैध कमाईभन्दा माटोमा पसिना बगाउने कमाईमा उनले भविष्य देखे । उनले माटोमा सुन फलेको सपना देख्न थाले । त्यसपछि २०६८ सालमा सैलुङ् एग्रिकल्चर प्रोडक्सन प्रालि दर्ता गरे । फलपूmल, जडिबुटी तथा अन्य विभिन्न कृषि उत्पादन थाले ।

वाफ रे, आम्दानी !

उनले कृषिमा विविधिकरणको रणनीति अपनाए । भविष्यमा जेको मूल्य धेरै आउँछ त्यही खेति गर्न थाले । यही क्रममा उनले किवी फलको महत्व र मूल्य थाहा पाए । धमाधम विरुवा लगाए । अहिले उनको बँगैचामा तीन सय ५० भन्दा धेरै छन् किवीको बोट । कतिपय बोटमा लटरम्म फल लागेर पाकेको छ । कतिपय बोटमा आगामी वर्षमा फल लाग्नेछ । चार प्रजातिका किवी लगाएका छन् ।

उनी किवीको विरुवा पनि बेच्छन् । फर्मले किविका २५ हजार भन्दा धेरै विरुवा उत्पादन गरेको छ । किवी फल बारीमै तीनसय रुपैयाँ किलो र विरुवा ३ सयदेखि ३५० रुपैयाँ गोटामा बेच्छन् । एउटा बोटमा ५० किलोसम्म किवी फल्छ । अब विचार गर्नुस्, उनको आम्दानी कति होला ? यसका लागि तपाईंले क्याल्कुलेटर नै थिच्नुपर्ने हुन्छ ।

जागिर नखाने, जागिर दिने

केही वर्षमै राङदान मालामाल भएका छन्, करोडपति भएका छन् । माथि वर्णन गरियो, उनी हिमाल कम्पनीमा गाडि चलाउँथे । त्यो जागिर चाहिँ के भयो ? त्यो जागिर उनले कृषि फर्म दर्ता गर्नासाथ छाडिदिए । फर्ममै भ्याइनभ्याई भएपछि कसरी जागिर खानु ? उनले जागिर खाने होइन जागिर दिने बाटो रोजे ।

दस जनालाई नियमित रोजगारी दिइरहेका छन् । आवश्यकता अनुसार दैनिक ज्यालादारीमा पनि कामदार राखिरहन्छन् ।

किवि बाहेक लौठ सल्ला, चिया, ग्राउण्ड एपल, रोजमेरी, पाउलोनिया, जटामसी, ठूलो ओखतो, बोझो, पाखनवेद, चिराइतो, पदमचाल, पाँचऔले, वुद्धचित्त लगायतका जडिबुटीका विरुवा उनले बेचिरहेका छन् ।

बंगुर र उन्नत जातका बाख्रा पनि पालेका छन् ।

सपना जस्तो विपना

काठमाडौं र भक्तपुरको सीमामा पर्ने मनोहरा खोलामा बालुवा बोक्ने काम गरेका ती राङदान आज देशकै प्रतिष्ठित किसान भएका छन् । गत वर्ष उनले मध्यमाञ्चलका उत्कृष्ट कृषकका रुपमा राष्ट्रपति पुरस्कार पाए । सपना जस्तै छैन त राङदान तामाङको सफलता ?

आउनुस्, तपाईं पनि आफ्नो सपनाको अण्डाको टोकरी फुट्न नदिनुस्, फुट्यो भने पनि चिन्ता नगर्नुस्, राङदानले जसरी नै प्रयास गरिरहनुस् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: