प्रहरीले खोल्यो त्रिशुली दुर्घटनाको कारण, दुर्घटनाबाट ८ जनाको मृत्यु

चितवन,
पृथ्बीराजमार्ग अन्तर्गत चितवन जिल्लाको इच्छाकामना गाँउपालिका ४ चुम्लिङ्गटारस्थित त्रिशुली नदीमा यात्रुबाहक बस खस्दा त्यसमा सवार यात्रुहरु मध्ये ८ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी अन्य २७ जना यात्रुहरु घाइते भएका छन् ।
काठमाडौंबाट अर्घाखाँचीतर्फ जाँदै गरेको लु. २ ख २९१ नम्बरको यात्रुबाहक बस मंसिर १३ गते विहान करीव सवा नौ बजे राजमार्गबाट करीव ३० मिटर तल त्रिशुली नदीमा खसेर दुर्घटना भएको थियो ।

उक्त दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथै सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन तालिम केन्द्र कुरिनटारबाट सशस्त्र प्रहरी उपरीक्षक बीरबहादुर श्रेष्ठको कमाण्डमा गोताखोरसहित खटिएको एपीएफ टोलीले घाइतेहरुको उद्धार गरेको हो ।
तीब्रगतिमा रहेको सो बस विपरित दिशाबाट आउँदै गरेको ना.६ ख ४९७२ नम्बरको ट्रकमा ठोक्किएर अनियन्त्रित भई सडकबाट तल नदीमा खसेर उक्त दुर्घटना भएको बताइएको छ । घाइते हुनेहरु मध्येका दुई जना भने सो ट्रकका चालक र सहचालक रहेको बताइएको छ ।

त्यसवेला दुर्घटनामा परेको बस नदीभित्र करीव २५ फिट पानीको गहिराइमा पुरै डुबेको अवस्थामा सशस्त्र प्रहरी बल नेपालको गोताखोरले फेला पारी बसभित्रबाट मृतक मध्ये ७ जनाको शव नदी बाहिर निकालेको थियो । एक जनाको भने उपचारको लागि काठमाडौंतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ ।
उद्धार कार्यमा सो तालिम केन्द्रबाट गोताखोरसहितको विपद व्यवस्थापन तालिम प्राप्त एपीएफ टोली आवश्यक उद्धार सामाग्रीसहित परिचालन गरिएको थियो ।

उद्वारमा खटिएका सशस्त्र प्रहरी बल नेपालका गोताखोरले त्यसवेला विभिन्न मेथड अपनाउँदै पानीमा डुबेको बसभित्रबाट शवहरु नदी बाहिर निकालेको थियो ।
घाइतेहरुलाई नदी किनारमा यत्रतत्र छरिएर रहेको अवस्थामा उद्धार गरिएको हो । घाइतेहरुलाई उपचारको लागि भरतपुर र काठमाडौंतर्फ पठाइएको छ ।
उद्धार कार्यमा एपीएफ टोली लगायत नेपाली सेना, नेपाल प्रहरी र स्थानीय वासिन्दाको समेत सहभागिता रहेको थियोे ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: