जसले एसिड छ्याप्यो, उसैको साथमा बित्दै छ जीवन

मसिंर १ – ‘कैयौँ पटक मानिसहरु मलाई देखेर भन्ने गर्छन्, आगोले पोलेको वा अरु केही भएको होला । तर म उनीहरुसँग मायालु पाराले भन्ने गर्छु कि एक पटक उनीहरुले मलाई सोधिदिए म सबै कुरा खोल्न तयार छु ।’

नीतुको मलिन स्वर सुनेर कसैलाई पनि लाग्दैन कि उनीमाथि तीन वर्षको हुँदा नै एसिड फालिएको थियो । २६ वर्षकी नीतु आज पनि त्यही व्यक्तिसँग एउटै छतमुनि बसिरहेकी छिन् जसले उनीमाथि एसिड छ्यापेका थिए । यस्तो गर्ने कोही अरु थिएन, उनकै बुवा थिए । उनलाई उनीसँग के भएको थियो केही पनि याद छैन । किनकी उनी त्यसबेला सानै थिइन् ।

नीतुकी आमा गीताले बताउँछिन्, ‘रातको झण्डै एक बजेको थियो होला, हामी सबै सुतिरहेका थियौँ, नीतु पनि मसँगै सुतिरहेकी थिइन् । भगवान जानून् उनी कसरी घरभित्र छिरे र हामीमाथि एसिड छ्यापे ।’

एसिडले सानी नीतुको अनुहार र गर्धन जल्यो । उनको आँखाको ज्योति पनि गुम्यो भन्दा हुन्छ । उनले धमिलो आकृति बाहेक केही देख्न सक्दिनन् । कोही उनको नजिक आए उनी चिन्न त चिन्छिन् तर आफ्नो अगाडि भएको मान्छेको अनुहार कस्तो छ केही मेसो पाउन सक्दिनन् ।

एसिड आक्रमणले उनकी आमाको एउटा आँखाको ज्योति गुम्यो । कम्मर र हात पनि जल्यो । झण्डै १४ महिना उपचार त भयो तर दुबैको शरीरमा आज पनि घाउको दाग रहेको छ । सायद त्यो दाग कहिल्यै मेटिने छैन ।

नीतुकी आमाले आफ्ना श्रीमानविरुद्ध मुद्दा हालिन् । दुई–तीन महिना पनि जेलमा बसे । तर पछि उनी छुटे । नीतुकी आमाले मुद्दा फिर्ता लिइन् । उनी भन्छिन्, ‘मेरी आमा र भाइलाई धम्की आइरहेको थियो । मैले पहिले नै सबै गुमाइसकेकी थिएँ । मैले आफ्नो परिवार गुमाउन चाहेकी थिइन् । त्यसैले मैले मुद्दा फिर्ता लिएँ ।’

एसिड आक्रमणको चार–पाँच वर्षपछि नीतु र उनकी आमा फेरि त्यही घरमा फर्के जहाँ उनीहरु दुबैमाथि एसिड फँ्याकिएको थियो । ‘केही समयपछि मेरी आमा बित्नुभयो । म दाजुभाइ तथा भाउजू र बुहारीहरुको सहारामा कति दिन बस्न सक्थेँ र ? हाम्रो अगाडि केही उपाय नै थिएन, हामीलाई फर्कनै पर्ने थियो’, नीतुकी आमा भन्छिन् ।

नीतुको जीवनका कठिनाईका बारेमा सोध्दा उनी भन्छिन्, ‘जबदेखि मैले होस सम्हालेँ, मैले आफूलाई यस्तै पाएकी छु । मैले राम्रोसँग देख्न पनि सक्दिन । तर मलाई थाहा छ कि मेरो अनुहार अरुको भन्दा फरक छ ।’

मैले अनुहार किन ढाक्ने ?

उनी सम्झन्छिन्, ‘कैयौँ पटक साथीहरुले मलाई सँगै खेलाउदैँनथे । उनीहरु भन्थे कि मेरो अनुहारदेखि उनीहरुलाई डर लाग्थ्यो । उनीहरु भन्थे कि म केही देख्दिन र म ठिकसँग दौडन पनि सक्दिनथेँ । मैले उनीहरुको कुरालाई कहिल्यै पनि नराम्रो मानिन । उनीहरुले मलाई सँगै नखेलाएपछि घर आएर म खेलौनाहरुसँग खेल्ने गर्थेँ ।’ ठूली भैसकेपछि पनि नीतु बाहिर निस्कने बेलामा अनुहार छोप्न सल्लाह दिन्थे तर उनी त्यसो गर्दिनथिन् । उनी सोध्छिन्, ‘मसँग जे भयो त्यसमा मेरो केही दोष छैन, म किन आफ्नो अनुहार ढाक्ने ?’ कतिपयले उनलाई देखेर तर्कने गर्थे भने कतिपयले उनलाई साथ पनि दिए । नीतु भन्छिन्, ‘मेरी फुपू मेरो सबैभन्दा नजिकको साथी । उहाँले मलाई निकै नै हेरचाह गर्नुभयो । मेहेन्दी लगाइदिनेदेखि मलाई तयार पार्ने काम उहाँले गर्नुहुन्थ्यो । मेरा केही साथीहरु पनि थिए जो मसँग गफ गर्थे ।’

के उनका बुवाले आफ्नो गल्तीको महसुस गरे त ? नीतु भन्छिन्, ‘मलाई त त्यस्तो लाग्दैन । उहाँ अहिले पनि परिवर्तन हुनुभएको छैन । तर मसँग उहाँले गर्ने व्यवहारमा भने केही फरक पाएकी छु । बिहान उठेर उहाँले मलाई चिया बनाएर दिनुहुन्छ । आज मैले उहाँलाई मटर–पनीरको सब्जी बनाउन भनेकी छु ।’

नीतु पूराना कुरामा फर्किन चाहँदिनन् । उनका बुवाले उनीसँग कहिल्यै माफी मागेनन् तर उनले माफी दिइसकिन् । तीन वर्षदेखि नीतु आमासँग आगराको शीरोज क्याफेमा काम गर्दैछिन् । उनको बुवा विवाहमा ब्याण्ड–बाजा बजाएर केही पैसा कमाउँछन् । नीतुको मनमा बुवाप्रति कुनै गुनासो छैन तर उनकी आमा भने श्रीमानसँग रिसाएकी छन् । उनी भन्छिन्, ‘मेरो उनीसँग कुनै सम्बन्ध नै छैन, हामी एउटै छतमुनि बसिरहेका छौँ तर एउटै घरमा अपरिचित भएर ।’

अब नीतु के चाहन्छिन् त ? उनी भन्छिन्, ‘म मेरो आँखाको उपचार गर्न चाहन्छु ताकी आमा–बुवालाई राम्रोसँग पाल्न सकुँ ।’

– बीबीसी हिन्दीबाट

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: