एउटा डाक्टरको परिश्रमले ग्रामीण गाँउमा प्राथमिक स्वास्थ्य केन्द्र

रेणुका खड्का

ग्रामीण भेगमा रहेका प्राथमिक स्वास्थ्य केन्द्र त्यहाँका जनताका लागि स्वास्थ्य उपचारको एक मात्र विकल्प हुने गर्छ। तर, कहिले डाक्टर नबस्ने, कहिले औषधि नहुने, कहीँ सामान्य उपकरण समेत नपाइने जस्ता समस्याले प्राथमिक स्वास्थ्य केन्द्र (पिएचसी) बाट सेवाग्राहीले त्यही प्राथमिक स्वास्थ्य सेवा समेत पाइरहेका हुँदैनन्।

म पनि त्यस्तै गाउँमा हुर्किएर आएकी हुँ। जहाँ सामान्य उपचारका लागि पनि हम्मेहम्मे पर्थ्यो। सुनसरीको चतरा प्राथमिक स्वास्थ्य केन्द्र केही समयअघि सम्म आफैं कमजोर अवस्थामा थियो। हुन त चतरा पिएचसीले धेरै जना डाक्टरलाई भोग्यो। कोही जागिर खान मात्र आउँथे, अवधि सकिएपछि चुपचाप जान्थे। स्वास्थ्य केन्द्रमा डाक्टर आएको गएको आभास हुँदैन थियो। डाक्टर र स्वास्थ्यकर्मीलाई जागिर मात्रै खाने ठाउँ बनिसकेको चतरा पिएचसीको अवस्था अहिले भने फेरिएको छ। साँच्चै आफ्नो कामप्रति जिम्मेवार भएर मिहिनेत गर्नु हो भने परिवर्तन सम्भव छ भन्ने उदाहरण दिएका छन् डा अनिल गिरीले।

मलाई गर्व लागेको छ, म हुर्केको र पढेको गाउँको प्राथमिक स्वास्थ्य संस्थाले अहिले मुहार फेरेको छ। अहिले त्यहाँका जनताले प्राथमिकताका साथ प्राथमिक उपचार पाएका छन्। नजिकै धरानमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बोलिचालीमा घोपा अस्पताल) हुँदाहुँदै पनि चतरा पिएचसीको अवस्था दयनीय थियो। तर अहिले चतराबासीले महसुस गरेका छन् डा अनिल मनैदेखि काम गर्ने इच्छा बोकेर आएका एक जुझारु डाक्टर थिए।

एक सयम यहाँका बासिन्दा समान्य बिरामी हुँदा पनि घोपा नै पुग्नुपर्ने वाध्यता थियो। किनकि छेवैको स्वास्थ्य केन्द्रमा न उपचार हुन्थ्यो न त विश्वास नै थियो। सरकारी औषधिहरु कुनाकानीमा त्यतिकै थन्किएर डेट एक्स्पायर हुन्थे तर बिरामीले पाउँदैन थिए।

स्वास्थ्य केन्द्रका कोठाहरु स्टोर रुम जस्ता, काउन्टर लथालिंग, चुकुल नभएका शौचालय, बिजुली भए पनि नबल्ने बत्ती यस्तै-यस्तै समस्याले आफैं बिरामी जस्तो थियो चतरा पिएचसी। पुरानो भवन भत्काउन वर्षौंदेखि विज्ञापन खुलाए पनि भत्किन नसेको अवस्था थियो।

तर जब डाक्टर अनिल दरबन्दी लिएर चतरा पुगे। उनले पुरानो भवनलाई इन्जिनियरिङ मूल्यांकन गरेर भत्काए। वास्तवमा उनले बिरामी जाँच्ने काम मात्र गरेनन् स्वास्थ्य केन्द्रको पूरै प्रणालीमा नै सुधार ल्याए।

चतरा प्राथमिक स्वास्थ्य केन्द्र (इन्सेटमा डा अनिल गिरी)

स्थानीय, सञ्चालन र व्यवस्थापन समितिको पहलमा स्वास्थ्य केन्द्रले आफ्नो छुट्टै औषधि कक्षा बनायो। लथालिङ्ग कोठाहरु सफा भए, शौचालय बनियो हेर्दाहेर्दै स्वास्थ्य केन्द्रको आवरण नै फेरियो।

यस्तै, २४सै घन्टा इमर्जेन्सी र अब्जर्भेसन सेवा सञ्चालन भयो। स्थानीयसँग मिलेर सरकारसँग माग गरी स्वास्थ्य केन्द्रमै भिडियो एक्सरे मेसिन आयो। अब एक्सरेकै लागि धरान कुदिरहनु नपर्ने भयो।

डा अनिलले आफ्नो २ महिनाको तलब खर्चिएर पानी शुद्धीकरण गर्ने मेसिन ल्याए। कर्मचारीको सहयोगमा फोनको इन्टरकम व्यवस्था मिलाए। एउटा स्वास्थ्य केन्द्रमा आवश्यक पूरा हुनेगरी ८ वटा इन्टरकमको सुचारु गराए। त्यसले स्वास्थ्यकर्मी र कर्मचारीबीच सहज सम्वादको वातावरण बन्यो र धेरै काम छरितो भयो।

धेरैपछि आफू खेले-हुर्केको ठाउँमा भएको स्वास्थ्य केन्द्र पुग्दा मलाई कुनै प्राइभेट क्लिनिकमा पुगेजस्तो लागेको थियो। यो भौतिक र संरचनागत रुपमा मात्र परिवर्तन भएको थिएन। त्यहाँ आउने बिरामी र उनीहरुले व्यक्त गर्ने विश्वासले मलाई अचम्म लागिरहेको थियो। ‘ओहो! मान्छेले इच्छा शक्ति मात्र राख्ने हो भने सानो-सानो कोसिसले पनि परिवर्तन सम्भव रहेछ।’ मेरो मनमा यही सन्देश दौडियो।

चतरा पिएचसीबाट बिदा लिने बेला चतराबासीले डा अनिललाई अत्यन्त सम्मान व्यक्त गरे। चतराबासीले डा अनिलको बिदाइ चाहेका थिएनन् तर उनको बिदा गर्नु नै थियो। डा अनिलले चतराबाट बिदा भए पनि उनले प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएको सुधार र बसाएको थितिले उनको सधैं सम्झना गरिनेछ। चतराबासीको मायाले डा अनिललाई पनि बाँधेको छ। उनले जानेबेलामा वाचा गरे, प्रत्यक्ष वा परोक्ष रुपमा म चतराबासीको स्वास्थ्यका लागि हरदम सहयोग गर्नेछु।

उनी आउनुअघि गाउँलेको अनुमान थियो, ‘जुन जोगी आए पनि कानै चिरेको, खरानी भिरेको’। तर डा अनिलले गाउँलेको मनमा बसेको त्यो बुझाइलाई गलत साबित गरिदिए र परिवर्तनको वाहक बनेर फर्किए।

चतरा पिएचसीमा गत साता निःशुल्क आँखा शिविरमा जाँदा त्यहाँको प्रगति देखेर सबै दंग थिए। त्यसबेला मेरो मनमा कुरा खेल्यो, यदि आफूले पाएको जिम्मेवारी थोरै कोसिस गरेर इमान्दार ढंगले पूरा गर्न चाहने हो भने त जस्तै अक्करमा पनि फूल फुलाउन सकिने रहेछ।

दुर्गम र ग्रामीण भेगका स्वास्थ्य संस्थामा भनेजस्तो सुविधा हुँदैन, तर एउटा डाक्टरले कुशल नेतृत्व दिएर मिहिनेत गर्दा गाउँलेले सोचेको भन्दा धेरै गुणा सेवा दिन सकिने पनि त रहेछ। म आशा गर्छु कि, डा अनिलहरु धेरैभन्दा धेरै ग्रामीण क्षेत्रमा पुगुन् र त्यहाँ प्राथमिक स्वास्थ्यको पर्खाइमा रहेका जनतालाई निस्वार्थ सेवा दिन सकुन्।

(खड्का बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी नर्स हुन्)

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: